मधेस आन्दोलनका मुख्य चार उपलब्धि
१. समानुपातिक समावेशी : मधेसी दलहरूले विरोध गर्दागर्दै जारी भएको संविधानको धारा ४२ मा सामाजिक न्यायमा समावेशी शब्द मात्रै उल्लेख गरिएको थियो, मधेसी मोर्चाको आन्दोलनपछि ९ माघमा संविधान संशोधन गरेर समानुपातिक समावेशी शब्द राखिएको छ।
२. तराईमा थप निर्वाचन क्षेत्र : पहिले भूगोल र जनसंख्याको आधारमा भनिएको थियो, अब जनसंख्यालाई मुख्य आधार बनाउने गरी संविधान संशोधन भएको छ । यसो गर्दा तराईमा निर्वाचन क्षेत्र बढ्नेछन् ।
३. मधेसी र थारू दूरी घट्यो : ०६४ को मधेस आन्दोलनमा मधेसी र थारू समुदायबीच वैमनस्यपूर्ण व्यवहार थियो । तर, अहिलेको आन्दोलन पश्चिम नेपालबाट सुरु भई पूर्वमा केन्द्रित भयो र थारूसँग सम्बन्ध सुमधुर भयो । थारूले मधेसीसँगै मिलेर आन्दोलन गरे ।
४. राजनीतिक चेतनामा वृद्धि : मधेस आन्दोलन बढी नाका र गाउँमा केन्द्रित भएकाले राजनीतिक जागरण बढेको छ । अधिवक्ता दीपेन्द्र झाको भनाइमा अहिले मधेसी जनतामा राजनीतिक चेतना र आत्मबल बढेको छ ।
मधेस र देशलाई भएका तीन क्षति
१. राजनीतिक संयन्त्र अनिश्चित : सीमांकन पुनरावलोकनका लागि राजनीतिक संयन्त्र बनाउनेबारे तीन दल र मोर्चा सहमतिनजिक पुगेका थिए । तर, आन्दोलन तन्किँदै जाँदा कमजोर भयो र संयन्त्र बन्न सकेन । सहमतिविना नै नाका खोल्ने निर्णयपछि मोर्चाको अडान कमजोर भएको छ ।
२. मधेसको क्षेत्रीय नेतृत्व असफल : मधेस आन्दोलनमा मोर्चाको मूल नेतृत्व असफल भएको विश्लेषण हुन थालेको छ । आन्दोलन चर्किएको वेला सम्झौता नगरेर थाकेपछि विनासहमति झन्डै–झन्डै टुंगिएको छ । मधेस अधिकारका लागि लडे पनि नेतृत्व अलोकप्रिय भएकाले यो अवस्था आएको हो ।
३. पहाड र मधेसको दूरी बढ्यो : नाकामा धर्नाले इन्धन आपूर्तिमा समस्या हुादा आन्दोलनप्रति पहाडी समुदाय अनुदार बन्यो । पहाडी समुदायलाई विश्वासमा लिन नसक्नु मधेस आन्दोलनको गम्भीर कमजोरी भएको अधिवक्ता दीपेन्द्र झाको विश्लेषण छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।