सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डा मिलेसँगै आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री प्रचण्ड आज बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फर्किएका छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्रीले आज दिउँसो एक बजेभित्र सरकारमा सहभागी हुँदै गरेका दलहरुलाई मन्त्री बन्नेहरुको नाम बुझाउन भनिएको छ।
दलहरुको मन्त्रीहरुको नामावली पठाएपछि आज अपराह्न ४ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने बालुवाटार श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएका हुन् ।
१० पुषको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका मन्त्रालयहरु खाली भएका मन्त्रालयहरुमा फेरबदल गर्दै आज नयाँ मन्त्रीमण्डल बिस्तार हुन लागेको हो । सत्ता साझेदारबीचको सहमति अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ८ मन्त्रालय पाएको छ ।