राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको आज महत्त्वपूर्ण बैठक बस्ने भएको छ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा आज बैठकबाट निर्णय गर्दैछ । रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाले जनाएको छ।
रास्वपाका पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद गुमेपछि रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्दै मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए।
गत वैशाख १० को उपनिर्वाचनमा चितवन-२ बाट पुनः जितेर लामिछाने सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।
यद्यपि उपनिर्वाचन जितेपछि पत्रकारहरुको एक प्रश्नमा लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए ।
त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् ।