राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेर गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनुपर्ने माग गर्दै यदि नपाएमा सरकार छाड्ने लामिछानेले चेतावनी बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय होइन अन्य कुनै मन्त्रालय दिन सकिने बताएपछि उनी रिसाएर बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता बदर हुने फैसला सुनाएपछि उनी शुक्रबार सांसद, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिबाट पदमुक्त भएका थिए ।
त्यसपछि लामिछानेले आइतबार पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका छन् । नयाँ नागरिकता लिएपछि गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संवैधानिक प्रावधानका आधारमा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई लामिछानेले दबाब दिँदै आएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड भने नदिने पक्षमा छन् । उनलाई पार्टीबाट पनि गृह मन्त्रालय नदिन सुझाव दिइएको छ । तर, नेकपा एमालेले भने लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिइरहेको छ । एमालेकै आडमा लामिछानेले सरकार छाड्ने धम्की दिएको बालुवाटारको बुझाइ रहेको बताएको छ ।