यहाँस्थित नेपाल–भारत जमुनाहा नाका बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको छ ।
मंगलबार बेलुकी ६ बजेबाट बन्द गरिएको सीमा नाका बिहीबार बेलुका ६ बजेबाट पुनः सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारत उत्तरप्रदेशमा भइरहेको निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले दुबै देशका सुरक्षा अधिकारीबीच भएको समझदारी अनुसार ४८ घण्टाका लागि नाका बन्द गरिएको बताए ।
उनले सो अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शव वाहन, दूध, तरकारी, माछा र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरुलाई आवागमन गर्न दिइएको बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । खुला सिमानाका कारण अन्य नाकाहरुमा पनि विशेष निगरानी बढाइएको जनाईएको छ ।
यसैगरी, मंगलबार बेलुकाबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।