ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ । विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई राखेको हो । नेपालपछि भ्रमणका लागि विश्वका उत्कृष्ट १० मुलुक कोलोम्बिया, क्युबा, जोर्डन, अल्बानिया, रोमानिया, अल साल्भाडोर, वेल्स, केन्या र श्रीलङ्का रहेका छन् । रफगाइड्सले आफ्नो साइडमा भूकम्पपछि नेपालका ऐतिहासिक सम्पदा पुनःपर्यटकका लागि भ्रमणयोग्य रहेको उल्लेख गर्दै पदमार्ग र होमस्टे कार्यक्रम सुरु भएको जनाएको छ । नेसनल जियोग्राफिक ट्राभलरले सन् २०१६ मा घुम्न छुटाउनै नहुने १६ वटा ‘कुल’ गन्तव्य को सूची सार्वजनिक गर्दै नेपाललाई छैटौँ नम्बरमा पारेको छ । इरान, कोस्टारिका, वासिङ्टन डिसी, आयरल्यान्ड र क्युवापछि ६ नम्बरमा नेपालको सर्वौच्च शिखर सगरमाथा परेको हो ।