१३ औं दक्षिण एसियाली खेलकुद (साग) समापन भए लगतै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रेस विज्ञप्ती निकालेको छ । तरुण दलको प्रेस विज्ञप्तीमा समापनको दिनमा भुटानलाई पराजित गरेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी, प्रशिक्षक तथा स्वर्ण पदक जितेका सबै खेलाडीहरुलाई शुभकामना र धन्यवाद समावेश रहेको छ ।
यस्तै विज्ञप्ती मार्फत नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार भएको भन्दै खेलकुद परिषद्का सदस्यसचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न सरकारसँग माग गरेको छ। दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार भएको भन्दै खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र खेलकुद मन्त्री जगत विश्वकर्मालाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग छानबिनको लागि माग गरेको हो।
सदस्यसचिव सिलवालले खेलाडीहरूलाई सुटिङ, साइक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरूको चाकरीका लागि दौरा सुरूवाल उपलब्ध गराएको तरुण दलको ठहर छ। दलले स्वर्ण जित्ने खेलाडीलाई जनही २५ लाख दिन सरकारसँग माग गरेको छ। पदक जित्ने खेलाडीले देशको इज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै दलले खेलाडी र खेलप्रति सम्मान गर्दै सरकार समक्ष पुरस्कारको व्यवस्था गर्न माग गरेको हो।
दलले रजत जित्नेलाई १५ लाख र कास्य जित्नेलाई १० उपलब्ध गराउन समेत माग गरेको छ।‘साथै साग खेलकुदमा प्रतियोगिताको टिकट बेच्ने गरी जिम्मेवारी (बिना टेण्डर) प्राप्त इसेवाले टिकट विक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति दलले खेद प्रकट गरेको छ’, विज्ञप्तिमा भनिएको छ।