काठमाडाैं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ।
पटक-पटक स्थगित हुँदै आएको लामिछानेको मुद्दाकाे सुनुवाइ आज पहिलो नम्बरमा राखिएको छ।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दाको उक्त पेसीमा कुनै फेरबदल नआए आज सन्दीपको मुद्दाले किनारा पाउनेछ।
लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ ।
बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। गत भदौदेखि उक्त मुद्दा खेपिरहेका लामिछाने अर्को हप्ता एसिया कप खेल्न श्रीलंका जाने तयारीमा छन् ।
आज मुद्दाको सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएका एसिया कप खेल्न जान पाउनेछन् भने दोषी ठहर भएमा जेल जानुपर्नेछ ।
अन्तिम सुनुवाइ हुन अगाडि नै नेपाल क्रिकेट सङ्घले एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नामसमेत समावेश गरिसकेको छ ।