आज प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस साँझ ५ः३० बजे भिड्दैछन् ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लाओस दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । लाओसले भुटानलाई २–१ ले हराएको थियो । तर, नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
यो समीकरण हेर्दा फाइनल खेल रोमाञ्चक हुनेछ । तर, यसपालि आफू भन्दा कमजोर टिम ल्याएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाको आलोचनासमेत भएको छ ।
नेपाली टोलीलाई खेल्न भने सहज देखिएको छैन । भुटानविरुद्ध नेपाल हारबाट जोगिएको थियो ।
प्रतियोगिताको फाइनल अघि नेपाल र लाओस उपाधि जित्नेमा ढुक्क देखिएका छन् । बिहीबार आयोजित प्रिम्याच कन्फरेन्समा दुबै टोली उपाधि जित्नेमा आत्मविश्वासी देखिए ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले टोलीले फाइनल जित्नेमा आफू आशावादी रहेको बताए ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।