इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बईले अहिलेसम्म खाता खोल्न सकेको छैन ।
गएरातिको खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजत भयो । वाङ्खेडे मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १५७ रन बनायो । जवाफमा चेन्नईले ३ विकेटको क्षतिमा १८.१ ओभरमै जित निकाल्यो । जितसँग चेन्नईले उपाधि दाबेदारीलाई अगाडि बढाएको छ । चेन्नई चार पटकको च्याम्पियन हो ।
चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ । मुम्बईका लागि इशान किशासनले सर्वाधिक ३२ रन जोडे । प्लेयर अफ द म्याच रविन्द्र जडेजाले ३ विकेट लिए । चेन्नईका लागि अजिन्क्या रहानेले २७ बलमा ६१ तथा ऋतुराज गायकवाडले ३६ बलमा अविजित रहँदै ४० रन जोडे ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४ अंक, दुई टिमले समान २ अंक तथा तीन टिम अंकविहीन छन् ।
शीर्ष स्थानदेखि राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद रहेका छन् ।