बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङको धारपानी भ्रमणबाट फर्किँदै गर्दा बिग्रएर रोकि राखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डागीले जानकारी दिए ।
घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सो बसमा ४१ जना सवार रहेका थिए । घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना ,सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना रहेका छन् ।