नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल भित्रको आन्तरिक विवाद उत्कृर्षमा पुगेको छ । नेपाल तरुण दलका तत्कालिन महासचिव भुपेन्द्र जंग शाहीलाई नेपाली कांग्रेस पार्टी अनुशासन समितिले ७ दिन भित्र लिखित स्पष्टिकरण मागेको छ । महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्ग सहितले अनुशासन समितिमा उजुरी दिएका थिए ।
सो उजुरीको प्रक्रिया सुरु गर्दै कांग्रेसको अनुशासन समितिले केही दिनअघि तत्कालिन महासचिव शाहीसँग लिखित स्पष्टिकरण माग गरेको हो । शाहीले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरुको मानमर्दन गरेको आरोप छ । उनले तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई पदबाट हटाएको भन्दै सूचना जारी गरेको पनि उल्लेख छ । अध्यक्ष, उपाध्यक्ष तथा कोषध्यक्ष सहितले गएको भदौ २७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित अनुशासन समितिमा महासचिव शाही विरुद्ध उजुरी दिएका थिए ।
अनुशासन समितिले सात दिनको समय दिएर गएको शुक्रबार लिखित स्पष्टिकरण माग गरी कारवाहीको प्रक्रिया अघि बढाएको हो । पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेपछि शाही अफ्ठयारोमा परेका छन् । यदि पार्टी अनुशासन समिति कठोर भयो भने शाही तरुण दलको महासचिव पदबाट मात्रै नभएर नेपाली काँग्रेसको साधारण सदस्यबाट समेत हट्न सक्ने खतरा छ ।
यस्तो छ स्पष्टिकरण :
विषय : लिखित स्पष्टिकरण पेश गर्ने सम्बन्धमा
उपरोक्त सम्बन्धमा पार्टीको विधान र भातृ संस्था नेपाल तरुण दलको विधान विपरित काम कारवाही गर्नु भएको भनी २०७६ साल भाद्र २७ गते बसेको नेपाल तरुण दलको बैठकको निर्णय सहित तरुण दलका अध्यक्ष श्री जितजंग बस्नेत, उपाध्यक्ष श्री उत्तम कुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्ग समेतले तपशिलका आरोप सहित नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी प्राप्त भएको छ । पत्र प्राप्त भएको मितिले ७ दिन (एक हप्ताभित्र) स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको छ ।
तपशील
१. लाखौ नेपाली जनतामा भ्रम फैलाउने गरी नेपाली कांग्रेस पार्टीले जननायक विपि कोइरालाको १०६ औँ जन्म जयन्तीको अवसर पारेर २०७६ साल भाद्र २४ गतेदेखि शुरु गरेको “हिमाल, पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” लाई नौटंकी र औचित्यहिन भनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय विपरित सार्वजनिक अभिव्यक्ति दिएको ।
२. पार्टीका आदरणीय नेताहरुलाई मानमर्दन हुने खालका अशिष्ट व्यवहार गरेको ।
३. अनुशासनको कार्वाही गरी दलबाट निस्काशन गरिएका नेपाल तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष श्री सगुन श्रेष्ठलाई कारवाहीको फुकुवा पत्र दिएको ।
४. नेपाल तरुण दल सप्तरी जिल्ला समितिको अध्यक्षमा विधान विपरित श्री सिताप्रसाद यादवलाई मनोनयन गरेको ।
५. नेपाल तरुण दलका अध्यक्ष श्री जितजंग बस्नेतलाई अध्यक्षबाट हटाएको सूचना जारी गरेको ।