जाजरकोटको सबैभन्दा दुर्गम स्थानमा रहेको फम्दामा टेलिफोन सेवा अवरुद्ध भएको छ । तीन महिनादेखि भगवती गाविस–६ फम्दामा रहेको नमस्तेको सेटेलाइट टावरमा खराबी आएपछि स्थानीय मर्कामा परेका छन् । नमस्तेको टावरबाट जिल्लाको भगवती, रुकुमको गोतामकोट र खदी गाविसका स्थानीय सेवा लिइरहेकामा असारदेखि टावरमा खराबी आए पनि अहिलेसम्म मर्मत हुन नसकेको स्थानीयको गुनासो छ । यो क्षेत्रमा सञ्चालनमा रहेको हेलो नेपालको टावरमा पनि खराबी आएपछि यहाँका हजारौँ उपभोक्ता टेलिफोन गर्न नपाएपछि छिमेकी रग्दा गाविसमा आएर आफन्तसँग सम्पर्क गर्न बाध्य भएको पश्चिम उच्च पहाडी गरिबी निवारण कोषका भगवती सामाजिक परिचालक मोहन बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच—स्काइ टावरमा स्काइको थ्रिजी सञ्चालन नहुँदा इन्टरनेट प्रयोगकर्ता मारमा परेका छन् । सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा इन्टरनेट सञ्चालनका लागि टेलिकमले पहल नगर्दा यहाँका विद्यालय, सरकारी कार्यालय मार्कामा परेका छन् । स्थानियले पटक—पटक सम्बन्धीत निकायमा जानकारी गराएपनि कुनै प्रतिक्रिया नआएको गुनासो गरेका छन् ।