जाजरकोट, भदौ । खगेनकोट गाविस वडा नं ६ का प्रतीक चदारा बिहानै उठेर अनुहार सफा नै नगरी आफ्नो जमिनमा लगाएको मकै हेर्न बारीमा पुग्छन् ।
बिहान ६ बजेबाट करिब ९ः३० बजेसम्म प्रतीक बारीमै बिताउछन् । मकै खानालाई आएको बाँदरलाई सकिनसकी लखेट्छन् । ९ः३० बजे पछि बारीमा मकै खाना आएको बाँदर, स्यालको चापका आधारमा उनी विद्यालय जाने मानसिकता बनाउने गर्दछन् ।
बाँदर नआएमा विद्यालय जसोतसो गरी पढ्न जाने गर्दछन् । यदि बाँदरले सताइराखेमा खाना र पढाइसमेत अभिभावक बारीमा नआउन्जेलसम्म रोकिन्छ ।
उनीजस्तै जाजरकोटका ग्रामीण भेगका अधिकांश बालबालिकाको वर्षायामको यो दैनिकी हो । बाँदर हेर्न नगएर घरमै बस्ने अनि १० बजे विद्यालय जाने बालबालिकाले भाइबहिनी पिठ्युँमा बोकेर पढ्नु दैनिकी हुने गरेको छ ।
त्यस्तै मकैमा बाँदर नलाग्ने घरका अभिभावक बिहान खाना खाएर दिउँसो काममा जानुपर्ने भएका कारण यहाँका साना बालबालिका समस्यामा पर्ने भन्दै ठूला विद्यालयमा पढ्ने उमेरका बालबालिकाले भाइबहिनी बोकेर विद्यालय जाने गरेका छन् ।
यहाँका धेरैजसो बालबालिका यसरी दोहोरो जिम्मेवारीका कारण पढाइमा गम्भीर असर परेको बताउँछन् । विद्यालयमा भाइबहिनी बोकाएर विद्यार्थीको पढाइ नबिगार्न अनुरोध गरे पनि अभिभावकले नमानेको हिमालय प्रावि मंसिरी खगेनकोटका शिक्षक हरिबहादुर सिंहले बताउनु भयो । जाजरकोटको मुख्य बाली मकै भएका कारण यस बालीलाई बाँदरबाट बचाउनैपर्ने बाध्यता रहेको छ ।
पहिले यहाँका जङ्गलमा बाघ हुने भएकाले बाँदर, स्यालको सङ्ख्या कम हुने गरेको स्थानीय बताउँछन् । अहिले जाजरकोटका जङ्गलमा बाघ नै नभएका कारण बाँदर र स्यालको सङ्ख्या अत्यधिक रुपमा बढेको छ । स्याल र बाँदरको सङ्ख्या बढेका कारण मकैबालीमा व्यापक क्षति हुने गरेको स्थानीय जसुन्त खत्रीेले बताउनुभयो ।
भिरालो जमिन, समयमा पानी नपर्दा बाली नसप्रिएको अवस्थामा बाँदर र स्यालले थोरै भएको पनि खाँदा यहाँका किसान चिन्तित भएका छन् । रासस