संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको बन्दको १३ औं दिनसम्म रौतहटमा तनाव कायमै छ।
आन्दोलनकारीहरूले एमाले पार्टीको रौतहट जिल्ला कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।
मोर्चा कार्यकर्ताहरुले एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टितेल छर्केर कोठा भित्र आगो लगाएका थिए।
बन्द रहेको पार्टी कार्यालमा आगो लगाएपछि भित्र रहेको फर्निचर कुर्सी जलेको छ। आगलागीका कारण कार्यकक्षमा राखिएको टेबल र कुर्सी जलेका छन्। प्लास्टीकको बोतलमा मट्टीतेल हालेर झ्यालबाट भित्र फालिएको र सोही कारणले आगो लागेको प्रहरीले बताएको छ।
आगलागीबाट खासै क्षति नभएको तथा आगजनी गर्नेहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यता मंगलवार सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका मठिया ६ का राजकिशोर ठाकुरको शव अझै पनि जिल्ला अस्पताल गौरमै छ। मृतकका आफन्तजन शव बुझ्न नआएका कारण आज तेस्रो दिन पनि ठाकुरको शव उठ्न नसकेको हो। स्थानीय प्रशासनले परिवारजनलाई शव जिम्मा लगाउने तयारी भइरहेको बताएपनि आन्दोलनरत मोर्चाका नेताहरुले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्तीसहित घटनास्थलमा ठाकुरको स्मारक बनाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेको मोर्चाका संयोजक तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले बताए।
मोर्चाको बन्दका कारण आज १३ औं दिन पनि सदरमुकाम गौरसहित गरुडा सम्मका सबै बजार, यातायात, शिक्षण संस्था तथा निजी तथा सरकारी बैंकहरु बन्द छन्। अन्य दिनभन्दा आज गौरको वातावरण केही सहज देखिएको छ। प्रशासनले बाटो र चोकहरुमा सुरक्षाकर्मीहरुको उपस्थिति केहि घटाएको छ।
स्रोत : सेतोपाटी