-प्रेम विश्वकर्मा, नेपालगंज
प्रदेश नम्बर ५ मा आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्दघाटन गरिएकोे छ । आज बाँकेको नेपालगंज स्थित रंगशालामा एउटा भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै औपचारिक उद्दघाटन भएको घोषणा गर्नुभएको हो ।
उहाँले खुसी ब्यक्त गर्दै खेलकुदको राष्ट्रिय पर्व आठौं राष्ट्रिय खेलकुद सफलताको शुभकामना ब्यक्त गर्नुभयो । तयारी र लगानी अनुसार दोस्रो पटक नेपालगंजले अवसर पाएको भन्दै उहाँले खेलकुदको विकासमा सबै जना सगौरव अग्रसर भई लाग्नुहुन आग्रह पनि गर्नुभयो ।
राष्ट्रिय झन्डा फहराएर देशको शिर उच्च राख्ने प्रयास खेलाडिहरुको सराहनिय भएको भन्दै खेलका साथै शिक्षामा ध्यान दिन सुझाव दिनुभयो । सुविधा सम्पन्न खेलकुदका पूर्वाधारहरु निर्माण गर्न, क्षमता विकास गर्न सबै तहको सरकार लाग्नु पर्ने उहाँले बताउनुभयो ।
खेलकुदको माध्यमबाट वर्तमान सरकारले लिएको लक्ष्य समृद्ध “नेपाल र सुखी नेपाली” बनाउने कार्यमा सहयोग पुर्याउने विश्वास पनि ब्यक्त गर्नुभयो ।
प्राचिन सभ्यताको उद्यमस्थल तथा शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थल प्रदेश नम्बर पाँचमा आयोजना भएको प्रतियोगिताले विश्वमै चिनाउन सहयोग गर्ने बताउनुभयो ।
यसैगरी प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश नम्बर पाँचका जनता र खेलप्रेमीहरुको तर्फबाट स्वागत गर्दै आठौं राष्ट्रिय खेलकुद कोसेढुङगा सावित हुने बताउनुभयो ।
खेलको माध्यमबाट सामुहिकता, सामिप्यता, मेलमिलाप ल्याउने भन्दै प्रदेश पाँचमा भएको राष्ट्रिय खेलकुदले एउटा इतिहास रचना गर्ने बताउनुभयो । साथै उहाँले अब प्रदेश नम्बर पाँचका १ सय ९ वटै पालिकाहरुमा खेलमैदान निर्माण हुने जानकारी पनि दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री एवंम मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा (सुनार) को अध्यक्षतामा भएको उद्दघाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, संघिय र प्रदेश सांसद, खेल सँग सम्बन्धीत विशिष्ट ब्यक्तित्वहरु, ७ वटै प्रदेशका खेलाडि, प्रशिक्षक, विभिन्न राजनितिक दल सँग सम्बन्धीत ब्यक्तित्व, सुरक्षा निकायका विशिष्ट ब्यक्तित्व, खेलप्रेमी दर्शक लगायतको सहभागीता थियो ।
कडा सुरक्षाका बीच भएको समुद्दघाटन अघि विभिन्न झाँकी सहितको ¥याली पनि प्रर्दषण गरिएको थियो । राष्ट्रिय खेलकुदको समापन आगामी बैशाख ११ गते नेपालगंजमै हुने छ ।
-साभार : रेडियो मर्निङ स्टार ९० मेगाहर्ज