राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाहकार तथा आठौं राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार उपसमितिका संयोजक रोहित कुमार दाहालले पत्रकार तथा संञ्चार माध्यमको पहुँच बढाउन कुनै पनि कसरत बाँकी नराख्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “जति सक्यो धेरै साथीहरुको सहभागीता होस भन्ने हाम्रो मनसाय हो, हामी आफुलाई भन्दा साथीहरुलाई नै बढी सेवा सुविधा दिने प्रयासमा छौं, मलाई संयोजकका हिसावले एउटा गाडि प्रयोग गर्न दिईएको छ, त्यो पनि आजदेखी प्रयोग गर्दिन, यसले खर्च घटाउने छ ।”
आज नेपालगंजमा आयोजित मिडिया कार्यशालामा सम्बोधन गर्दै संयोजक दाहालले भन्नुभयो, “आठौं राष्ट्रिय खेलकुदलाई सके सहयोग गर्नुहोस, नसके असहयोग नगरौं ।”
विभिन्न संञ्चार माध्यममा आवाद्ध पत्रकार तथा संञ्चारकर्मी सहभागी कार्यशालामा रेडियो कान्तिपुरका पत्रकार तथा प्रसार प्रसार उप समितिका सदस्य पवन आचार्यले आफनो राष्ट्रिय र अन्र्तराष्ट्रिय खेलकुद समाचार लेखनको अनुभव सुनाउदै खेलकुद समाचार लेखन बारेमा प्रशिक्षण दिनुभएको थियो ।
खेलकुद अनुशासनमा संञ्चालन गरिने भएकाले समाचार संकलन गर्न खटिने पत्रकारहरु पनि अनुशासनमा रहन जरुरी रहेको उहाँले बताउनुभयो । आठौं राष्ट्रिय खेलकुद २०७५-०७६ प्रदेश नम्बर ५ को बाँके, दाङ्ग, बर्दिया र रुपन्देही जिल्लामा आयोजना भईरहेको छ ।
यही चैत्र २७ गतेबाट शुरु भएको प्रतियोगिता आगामी बैशाख ११ गते समापन हुनेछ । यसको औपचारिक उद्दघाटन भने बैशाख ५ गते नेपालगंज रंगशालामा हुनेछ ।
उता आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्स सहित प्राथामिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा राखिएको पौडेलले बताउनुभयो । खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर संन्चालन गर्ने राखेपका सदस्य सचिव केशव विष्टले जानकारी दिनुभयो ।
उपचारका लागि भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज र कोहलपुर, भिजन आँखा अस्पतालमा उपचारका लागि प्रवन्ध मिलाइएको छ । घाइते खेलाडीका लागि अस्पतालका आपतकालीन कक्षका दुईदेखि चार वटा शैया रिजर्ब राखिने संयोजक पौडेलले बताउनुभयो । चोटपटक लागेका खेलाडीका लागि नेपालगन्जमा उपचार संम्भव नभएको खण्ड्मा काठमाडौसम्म लगेर पनि थप उपचारको व्यवस्था मिलाएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २ सय ११ जना खेलाडी, ६ सय ४० टिम प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक गरी जम्मा ६ हजार ३ सय १२ जना सहित विभिन्न उपसमितिका पदाधिकारी सहभागी रहेको प्रचार प्रसार उपसमितिले जनाएको छ ।
-जारी प्रेस नोट हेर्नुहोस ।