काठमाडाैं ।
काठमाडौं महानगरपालिकाले साँझको फुटपाथ ब्यापार नियन्त्रण गर्ने भएको छ । दिउँसो केही कडाइ गरे पनि महानगरपालिकाले यसअघि साँझ फुटपाथमा ब्यापार गर्न रोकेको थिएन ।
सहरी सभ्यता र सौन्दर्य कायम राख्न, पैदल यात्रुको आवागमन व्यवस्थित गर्न र उपभोक्ता ठगिने क्रम रोक्न भन्दै महानगरपालिकाले फुटपाथ अतिक्रमण शून्यमा झार्ने अभियान सुरु गरेको हो । जसअनुसार साँझ ६ देखि राति १० बजेसम्म फुटपाथ व्यापार नियन्त्रण गर्न लागिएको हो । महानगरपालिकाले आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेविरुद्ध हुने कारवाही पनि कडा बनाएको छ । फुटपाथमा ब्यापार गर्नेको समान जफत गरी परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराउँदै आइएकोमा अब सामान नै लिलामी गरिने छ । महानगरपालिकाले खुद्रा बजारका लागि तत्काल कुनै विकल्प दिन नसकिने पनि स्पष्ट पारेको छ ।
काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, गोंगबु, सुन्धारा, न्यूरोडलगायत क्षेत्रमा रात्रिकालीन फुटपाथ ब्यापार मौलाएको छ ।