कैलाली । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । कैलालीको धनगढीमा भएको खेलमा एपिएफलाई टाइब्रेकरमा ५–४ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । खेलको ३१ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले हानेको फ्री किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । जर्ज प्रिन्सले नै ३७ औँ मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार पनि अमृतले बचाएका थिए । टाइब्रेकरमा सशस्त्रका सुदिप गोल गर्न नसक्दा आर्मीले उपाधि जितको हो । जितसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ । सशस्त्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो ।
आर्मीका कप्तान भरत खवास प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए । एपिएफका अन्जन विष्ट उत्कृष्ट फरवार्ड, एपिएफकै टोप विष्ट उत्कृष्ट डिफेन्डर, आर्मीका विकेश कुथु उत्कृष्ट किपर, आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, सुदूरपश्चिमका अमानत सिंह उदमायन खेलाडी चुनिए ।