एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधि विराटनगर वारियर्सले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई १ रनले हराउँदै विजेता बनेको हो। विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्।
टस जितेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको विराटनगरले शरद भेषवाकर नेतृत्वको भैरहवालाई १ सय ५० रनको लक्ष्य दिएको थियो। विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको छ। यसका लागि ओपनर अंशुमन रथले ४१ रन, कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए।
विराटनगरका कप्तान पारस खड्का म्यान अफ द म्याच भएका छन्।
भैरहवाले पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान भेषवाकरले ५२ रन बनाएर रनआउट भए।
अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो।