बाँके । कोहलपुर नगरपालिकाले एक सय दुईजना अस्थायी एवम् करार कर्मचारीको म्याद तीन महिनाका लागि थप गरेको छ । असोज २७ गते बसेको नगर कार्यपालिकाको बैठकले अस्थायी तथा करार कर्मचारीको म्याद तीन महिनाका लागि थप गर्ने निर्णय गरेको हो ।
तीमध्ये एकजना अस्थायी र एक सय एकजना करार कर्मचारीको म्याद थप गरिएको नगरपालिकाका सूचना अधिकारी कर्णबहादुर थापाले जानकारी दिए । विभिन्न मितिदेखि कार्यरत कर्मचारीहरुको असोज मसान्तसम्म करार सम्झौताको म्याद रहेकोमा अरु तीन महिना म्याद थपको निर्णय भएको उनले बताए ।
एक सय दुईजना अस्थायी एवम् करार कर्मचारीहरुको म्याद कात्तिक एक गतेदेखि लागू हुनेगरी तीन महिना थप गरिएको हो । पुस मसान्तसम्म अस्थायी एवम् करार कर्मचारीहरुले काम गर्न पाउने छन् । म्याद थप हुनेमा अस्थायी कर्मचारीमा चौथो तहकी नर्मदाकुमारी रावत मात्र रहेकी छिन् ।
अन्य कर्मचारीहरुमा विभिन्न मितिमा करारमा नियुक्ति भएका आठौं तहदेखि श्रेणीविहीन कर्मचारीसम्म छन् । करारका म्याद थप भएका अधिकांश स्वास्थ्यतर्फका र श्रेणीविहीन कर्मचारीहरु रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
यसअघि उनीहरुको म्याद कार्यपालिका बैठकले असोज मसान्तसम्म थप गरेको थियो । बैठकले नगरपालिकाको प्रशासनिक संरचना सुधारका लागि जनशक्ति व्यवस्थापन एवम् कार्यालय संगठन संरचना निर्माणका लागि गठित कार्यदलले पेस गरेको प्रतिवेदनबाट प्राप्त सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्ने निर्णय गरेको छ ।