आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको उजुरीमाथि जाँचबुझ गरी अन्तिम निर्णय गरिँदैछ ।
आज निर्वाचन आयोगले ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ । त्यस्तै उम्मेदवारले भोलि आफ्नो नाम फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । सोही अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीन वटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
रविमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् ।
बिहिबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।