जनमत पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने पक्का भएपछि काठमाडौंमा उक्त पार्टीका अध्यक्ष सीके राउतको खोजी बढेको छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थोरै मात्र सीट अपुग हुन सक्ने सम्भावनाका बीच राउतलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले भेटेर सहकार्यको प्रस्ताव राखिसकेका छन् ।
राउतले देउवाका अलावा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बाल कृष्ण खाणसँग छुट्टाछुट्टै भेटवार्ता गरे । उनको राजनीतिक भेटघाट जारी छ । प्रधानमन्त्री देउवासँगको भेटमा सरकारमा सहभागी हुनका लागि आएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको राउत बताउँछन् ।
‘सरकारमा आउनका लागि प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो । मधेश प्रदेश र संघीय सरकारमा सहभागी हुनुस् भनेर उहाँले भन्नुभएको छ,’ राउतले लोकान्तरसँग भने, ‘बाहिर हल्ला भएजस्तो सरकारमा जाने विषयमा हामीबीच कुनै सहमति नै चाहिँ भएको छैन, तर उहाँको प्रस्तावमा हामी सकारात्मक छौं ।’
सरकारमा सहभागिताका लागि आफूले जनमत पार्टीले उठाएका माग र मुद्दाहरू सम्बोधन हुनुपर्ने जवाफ दिएको र प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको राउत बताउँछन् । ‘मैले किसान आन्दोलनको मुद्दा, हामीमाथि लगाइएका झूटा मुद्दाहरू फिर्ताको विषय, नागरिकताको मुद्दालगायत सम्बोधन हुनुपर्ने भनेर भनेको थिएँ,’ राउतले थपे, ‘ती सबै मागप्रति उहाँ सकारात्मक हुनुभयो ।’
मुद्दा फिर्ताकै विषयमा गृहमन्त्री बालकृष्ण खाणसँग छलफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीसँग भेटेपछि मुद्दा फिर्ताको प्रक्रियाका विषयमा नै गृहमन्त्री बालकृष्ण खाणसँग भेटेको हो । केही मुद्दा फिर्ता भए पनि केही मुद्दा अझै बाँकी नै छ ।’ कुन-कुन मन्त्रालय पाउने, संख्या कति हुने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ । बाहिर परराष्ट्र मन्त्रालय मागेको भन्ने हल्ला चले पनि त्यो गलत रहेको उनले बताए ।
‘किसानको मुद्दा समाधान गर्नुका साथै विकास गर्नका लागि हाम्रो प्राथमिकतामा भौतिक पूर्वाधार मन्त्रालय हो,’ राउतले थपे, ‘त्यसबाहेक बेरोजगारी समस्या समाधान गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि हाम्रो प्राथमिकतामा छ ।’ मधेश प्रदेश सरकारको नेतृत्व नै गर्न पाउनु पर्ने आफूहरूको दाबी रहे पनि त्यस विषयमा भने कुराकानी हुन बाँकी रहेको उनको भनाइ छ ।
‘मधेश प्रदेशमा हामी निर्णायक छौं । त्यहाँ सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो दाबी त हो, तर त्यस विषयमा अहिले प्रधानमन्त्रीज्यूसँग कुरा भने राखेको छैन ।’ पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँग भने भेटेर शुभकामना आदानप्रदान तथा बधाई साटासाट मात्र भएको उनले बताए ।
‘मैले त तपाईं ओलीजीप्रति ढल्किनुभयो कि भनेर सोच्याथें, तर त्यसो होइन रहेछ भनेर उहाँले भन्नुभयो,’ राउतले प्रचण्डसँगको संवाद उद्धृत गर्दै लोकान्तरसँग भने, ‘यो धेरैलाई लागेको थियो, तर त्यस्तो केही पनि होइन भनेर हाँसीहाँसी जवाफ दिएँ ।’ प्रचण्ड र देउवा दुवैले सरकारमा सहभागी हुन भने पनि कसको नेतृत्वमा सहभागी हुने भन्ने विषयमा भने नखुलाएको उनले बताए । ‘दुवैले सरकारमा सहभागी हुन आग्रह गर्नुभयो, तर कसको नेतृत्वको सरकार बन्ने भन्ने कुरा बताउनुभएको छैन,’ राउतले भने ।