नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका खजुरा र बैजनाथ गाउँपालिकाका नेताहरूले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार आफ्नाे पार्टीको आधिकारिक उम्मेदवार भएकाे बताएका छन्।
दुई गाउँपालिकाका अध्यक्ष तथा निर्वाचन कमिटीकाे बिस्तारिक बैठकले उक्त निर्णय गरेकाे नेताहरूले बताए ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष जयबहादुर विश्वकर्मा, खजुरा गाउँपालिकाका अध्यक्ष राजकुमार बिक, प्रदेश ‘क’ निर्वाचन क्षेत्र नं. ३ का संयाेजक दीपेन्द्र शाह र सचिव महेन्द्रबहादुर शाहीले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका हुन्।
माओवादीले क्षेत्र नं. ३ ‘क’ मा आइपी खरेललाई उम्मेदवार बनाएकाे छ। माओवादीकाे स्थानीय कमिटीले खरेललाई स्वीकार गरेकाे छैन। हालै पार्टी प्रवेश गरेका स्वतन्त्र उम्मेदवार सुनारलाई याे समूहले उम्मेदवार बनाएकाे छ। पार्टीको जिल्ला नेतृत्व अहिलेसम्म माैन बसेकाे छ। माओवादीकाे याे विवादले प्रदेश र संघकै निर्वाचनमा असर पर्ने देखिन्छ।