भूमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाले सर्वसाधारणको सहजता र छिटो–छरितो सेवा प्रवाहका लागी भन्दै अनलाइनबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ ।
आइतबार एक औपचारिक समारोहका बीच अनलाइन सेवा संञ्चालनको उद्दघाटन गरिएको हो । देशभरीका मालपोत कार्यालय मध्ये अनलाइनबाट सेवा दिने कार्यालयको रुपमा यो ८० औं स्थानमा परेको छ ।
अनलाइन सेवा संञ्चालनको उद्दघाटन कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, काठमाडौंका महानिर्देशक गोकर्णमणि दुवाडिले प्रविधिको प्रयोगले पु¥याउने फाइदाका बारेमा उपस्थित सरोकारवाला निकायका ब्यक्तित्वहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर उपप्रमुख शुसिला गिरीले अनलाइन सेवाको बारेमा मिडिया मार्फत प्रचार प्रसार गर्न जरुरी छ, भन्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीले जनमैत्री सेवा दिन तयार रहनुपर्ने बताउनुभयो । भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाका युवा नेता गेहेन्द्र ढकालले बर्दियामा नव जमिन्दार जन्मने स्थितिको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘गरिब किसान मजदुरको अलि–अलि भएको जग्गा नव धनाड्य बाट छिन्ने क्रम जारी छ । चर्को ब्याजदरमा समस्या परेको बेला पैसा दिएर लिखत गरि दृस्टी बन्दक गरि जग्गा कब्जा गर्ने कार्य भइरहेको छ । एक बर्षमा सावाको एक सय प्रतिशत देखी तीन सय प्रतिशत रुपैयाँ सम्म ब्याज रकम लिने गरेको देखिएकोे छ । निर्वाचित जनप्रतिनिधि र कार्यालयले यो कार्य रोक्नु पर्छ, सरकारी जग्गालाई भुमाफियाको मिलोमतोमा निजीकरण गरिएका सबै जग्गा दर्ता बदर गर्नुपर्छ ।’
बर्दिया जिल्लामा भुमिसुधार तथा मालपोत कार्यालयले अनलाइन सेवा सुरु गरेपछि अब जनताले छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्ने र भुमाफियाको चलखेल रोकिने अपेक्षा गरिएको छ ।
अनलाइन सेवाको संञ्चालन, उद्दघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, विभिन्न वडाका अध्यक्ष, सुरक्षा निकाय र समाजसेवी बुद्धिजिवी वर्गको उपस्थिती रहेको थियो ।