गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे भारतीय गायक एवं नायक हिमेश रेशमियाले फिल्म बनाउने हुनुभएको छ । उहाँले गोर्खा सैनिक अधिकारी विष्णुको बायोपिक बनाउने राइट्स लिनुभएको छ।
फिल्मको कास्ट फाइनल नभइसके पनि विष्णुको बायोपिकको अनुसन्धान र पटकथाको कल्पना प्रफुल्ल शाहले गर्नुभएको छ । सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक गोरखपुरबाट राँची जाँदै हुनुहुन्थो उनी मौर्य एक्सप्रेसमा यात्रा गरिरहनुभएको थियो ।
डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइल लगायतका सामग्री लुट्न थाले । जब डाका श्रेष्ठ भए ठाउँ पुगे, उहाँ सुतिरहनुभएको थियो ।
डाकाहरुले झक्झकाएर उठाउँदा उहाँ आफूसँग भएको सामग्री दिन तयार हुनुभयो तर उहाँसगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उहाँ चुप बस्न सक्नुभएन । उहाँले आफूसँग भएको खुकुरी निकाल्नुभयो र डाकामाथि जाइलाग्न थाल्नुभयो ।
श्रेष्ठले टाइम्स अफ इन्डियालाई भन्नुभयो, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिन। मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’
डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।
-साभार : रातोपाटी