कप्तान लियोनल मेस्सी रसिया विश्वकप २०१८ पछि पहिलोपटक अर्जेन्टिनाको टिममा पर्नुभएको छ । उहाँ भेनेजुएला र मोरक्को विरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा पर्न सफल हुनुभएको हो ।
उहाँले यसअघि अर्जेन्टिनाको ६ वटा मैत्रीपूर्ण अन्तराष्ट्रिय खेल गुमाउनुभएको थियो । विश्वकप २०१८ को प्रिक्वाटर फाइनल खेलमा फ्रान्ससँग खेले पश्चात मेस्सी अहिलेसम्म अर्जेन्टिना टिममा पर्नुभएको थिएन ।
३१ वर्षीय मेस्सीले १ सय २८ खेलमा आफ्नो देशका लागि ६५ गोल गर्दै कीर्तिमानी रेकर्ड राख्नुभएको छ । त्यस्तै, एन्जेलो डी मारियालाई पनि बोलाइएको छ । मेस्सीजस्तै उहाँ पनि विश्वकपपछि पहिलोपटक टिममा पर्नुभएको हो ।
मुख्य प्रशिक्षक लियोनल स्कलोनीले इरिक लमेला र पाउलो गजानिगालाई टिममा राख्नुभएको छैन । त्यस्तै, भेनेजुएला र मोरोक्कोसँगको खेलमा सर्जियो अगुएरो र गोञ्जालो हिगुइन भने उपस्थित हुनु हुने छैन ।
अर्जेन्टिनाले यही मार्च २३ तारिखमा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यस्तै, मार्च २६ तारिखमा अर्जन्टिनाले मोरक्कोसँग खेल्नेछ । कोपा अमेरिका फुटबल यही जुन १४ देखि जुलाई सातसम्म ब्राजिलमा हुँदैछ ।
अर्जेन्टिना समूह बी मा परेको छ भने यो समूहमा अर्जेन्टिनासँगै कोलम्बिया, पाराग्वे र २०२२ को विश्वकप आयोजक राष्ट्र कतार रहेका छन् । -साभार : अनलाइन खबर