आगामी फागुन २९ गतेदेखि धनगढीमा प्रथम मुख्यमन्त्री कपअन्तर प्रदेश खेलकुद प्रतियोगिता संञ्चालन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रुपले भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले आज बिहान पत्रकार सम्मेलको आयोजना गर्दै प्रतियोगिको तयारीबारे जानकारी गराएको हो । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टनका खेलहरु समाबेश हुने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो ।
फुटबल बाहेक अन्य खेलमा महिला र पुरुष दुबै टोली सहभागि हुने उहाँले बताउनुभयो । प्रतियोगितामा सबै प्रदेशका खेलाडीहरु सहभागि हुने बताइएको छ । प्रत्येक प्रदेशबाट सबै विधाका ७८ खेलाडी, ७ प्रशिक्षक र ७ व्यवस्थापक गरेर जम्मा ६ सय ४४ जनाको सहभागिता रहने मन्त्री सुवेदीले बताउनुभयो ।
प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्रसहित जनही १० हजार रुपैयाँ पुरस्कार दिइने छ । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख रुपैयाँ, द्वितीयलाई ८ लाख रुपैयाँ र तृतीयलाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता आगामी चैत्र ३ गते सम्पन्न हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
रकम अपुग हुने देखिएपछि थप ५० लाख माग गरिएको छ । प्रतियोगिताको उद्वघाटनका लागि प्रधानमन्त्री, राष्ट्रपति वा उप–राष्ट्रपति मध्ये एकजनालाई निमन्त्रणा गरिने मन्त्रालयले तयारी छ ।
–साभार : थाहा खबर