राष्ट्रिय जनता पाटी (राजपा) नेपालको नेतृत्व प्रदेश नम्बर २ मा बढी केन्द्रित भएको भन्दै अन्य प्रदेशका नेताहरुले गुनासो गरेका छन । बाँकेको नेपालगंजमा बसेको शुक्रबार ५ र ७ नम्बर प्रदेशस्तरीय बैंठकमा यस्तो गुनासो आएको हो ।
उनीहरुले प्रदेश नम्बर ५ र ७ लाई केन्द्रिय नेतृत्वले वेवास्ता गरेको आरोप पनि लगाएका छन । नेतृत्वले अन्य प्रदेशमा ध्यान दिन सके संगठन बलियो हुदै जाने राजपाका केन्द्रिय सदस्य रामकुमार दिक्षितले बताउनुभयो ।
साथै उनीहरुले पार्टीको तल्लो तहदेखी माथिल्लो तह सम्म नै अध्यक्ष मण्डल प्रणाली हटाउनु पर्ने सुझाव दिएको पार्टीका केन्दिय सदस्य शत्वती कुर्मीले बताउनुभयो ।
यद्धपी केन्द्रीय अध्यक्षमण्डलका सदस्यहरुले भने आफुहरुले कुनै पनि प्रदेशमाथि भेदभाव नगरेको दावी गरेका छन । अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले प्रदेशमा केही तलमाथि भएको भन्दै त्यो तत्कालीन परस्थितिले गराएको तर सबै प्रदेशलाई नेतृत्वले समान दृष्टिले हेरेको स्पष्ट पार्नुभएको छ ।
राजपा नेपालको आगामी बैशाखमा प्रदेश नम्बर २ मै महाधिवेशन हुने संम्भावना छ ।