अनलाईननेपालगंज डटकम :
नेपाल तरुणदल केन्द्रीय समितिको आयोजना र तरुणदल सुर्खेतको सह संयोजनमा हिजोबाट बिरेन्द्रनगर, सुर्खेतमा सुरु भएको प्रदेश नं ६ को तरुणदल प्रशिक्षण भेलाको आज भव्यताका साथ समापन भएको छ । २ दिने प्रशिक्षण भेलामा आज दोस्रो दिन नेपाल तरुणदलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा लगायतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । बिरेन्द्रनगर, सुर्खेतमा समापन भएको यस प्रदेश नं ६ को भेला संगै नेपाल तरुणदलको सातैवटा प्रदेशको प्रदेश स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । यस्तै प्रशिक्षार्थीहरुलाई नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
अब छिट्टै नै नगर भेला र जिल्ला भेला संगै अरु थुप्रै किसिमका प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाल तरुणदल केन्द्रीय समितिले जानकारी दिएको छ । नेपाली कांग्रेस यति बेला प्रमुख प्रतिपक्ष दलको रुपमा बसेको छ । यति बेला नेपाली कांग्रेसको भातृ संस्थाहरु सुस्त तरिकाले चलेको देखिन्छ तर त्यसै भित्र नेपाल तरुणदलको यस किसिमको एक पछिको अर्को कार्यक्रमले नेपाली कांग्रेसलाई उर्जा दिएको देखिएको छ । निराश भएका नेपाली कांग्रेस प्रेमी कार्यकर्ताहरुमा समेत नेपाल तरुणदलको प्रशिक्षण कार्यक्रमले भरपुर जोश र जाँगर थपेको प्रष्ट देखिन्छ ।
कांग्रेसलाई अनुशासित र मर्यादित बनाउने दृढ संकल्प बोकी र अबको ५ बर्ष पछिको चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उदेश्यका साथ यति बेला नेपाली तरुणदल निरन्तर निकै मेहेनतका साथ अगाडी बढेको देखिन्छ । नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जनताको माझमा नेपाली कांग्रेसलाई फेरी मजबुत बनाएर उभ्याउने जिम्मेवारी नेपाल तरुणदल माथि आएको र यसको लागि नेपाल तरुणदलले डटेर काम गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । यस्तै उहाले समापन कार्यक्रममा बोल्दै सबै जिल्लाका तरुणदल अध्यक्ष र कार्यकर्ताहरुलाई जोडतोडले संगठन विस्तार गर्ने काममा लाग्न र जनताको हरेक पाईलामा साथ रहने निर्देशन दिनुभएको छ । यस्तै उहाले कुनै नेताको गुट र उपगुटको पछि नलागी नितान्त र निस्वार्थ रुपले पार्टीको समृद्धिको लागि सोची अगाडी बढ्न समेत निर्देशन दिनुभएको छ ।
यस्तै उहाले पार्टी भित्रको आन्तरिक द्वन्दको अन्त्य हुनु आजको आवश्यकता रहेको र सबै मिलेर एकजुट भए मात्रै फेरी कांग्रेस उर्जावान हुने र जनताको मन मस्तिष्कमा बस्न सफल रहने समेत उहाले बताउनुभएको छ । यस्तै उहाले कांग्रेस र नेपाल तरुणदल अहिलेको वर्तमान के.पी ओलीको सरकारको काम कारवाही नियाली रहेको र कहिँ कतै जनता र देश माथि संकट निम्त्याउने काम गरे र जनताको अधिकार माथि खेल्वार गरे परिणाम भयानक हुने चेतावनी समेत के.पी ओली सरकारलाई दिनुभएको छ । यस्तै उहाले अब हरेक जनताको साथमा नेपाल तरुणदल हुने र देश विकासमा पनि नेपाल तरुणदल निकै मेहनतका साथ लाग्ने बताउनुभएको छ ।