काठमाडाैं ।
अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाले संयुक्त अरब इमिरेट्स (युएई) स्थित अल फुजाईरा क्लबको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । युएई दोस्रो डिभिजनबाट स्वतः माथिल्लो श्रेणीमा पुग्ने सम्भावना सकिएपछि म्याराडोनाले जिम्मेवारीबाट हात निकालेका हुन् ।
५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले गतवर्षको मे महिनादेखि क्लब प्रशिक्षकको जिम्मेवारी लिएका थिए । शुक्रबार भएको खेलमा खोरफक्कानसँग १/१ को बराबरीसँगै क्लबले तेस्रो स्थानभन्दा माथि नजाने पक्का भएपछि म्याराडोनाले पद छाडेका हुन् । त्यसअघि म्याराडोनाले युएईकै अल(वासल क्लबमा एक वर्ष बिताएका थिए ।
सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका म्याराडोनाले टोलीलाई विश्वकपमा पनि अपेक्षाअनुसार प्रदर्शन नगरेपछि प्रशिक्षक पद गुमाएका थिए । खेलजीवनमा विवादले भरिएको उनको करियर प्रशिक्षण करियरमा पनि जारी नै रहेको छ । म्याराडोनाले अब निकट भविष्यमा प्रशिक्षण सम्हाल्नेबारे केहि नसोचेको उनको वकिलले बताएका छन् ।