अनलाईननेपालगंज डटकम :
हिजोबाट धनगडी, कैलालीमा सुरु भएको तरुणदल प्रशिक्षण भेलाको आज समापन भएको छ । नेपाल तरुणदल केन्द्रीय समितिको आयोजना र तरुणदल जिल्ला समिति कैलालीको संयोजनमा प्रदेश नं ७ अन्तर्गत बैशाख १२ र १३ गते २ दिने प्रशिक्षण भेला धनगडी, कैलालीमा आयोजना भएको थियो । भेला आज निकै भव्य तरिकाले सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे र नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यस्तै तरुणदल जिल्ला समिति कैलालीले नेपाल तरुणदल केन्द्रीय समितिका पदाधिकारी र प्रशिक्षण दिने नेताहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । भेलाको दोस्रो दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र उदय शमशेर राणा, तरुणदल पुर्व अध्यक्ष विनोद कायस्थ लगायतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले तरुणदलको कदम यत्ति मात्र नभएर यो त सुरुवात मात्र भएको बताउनुभएको छ । यसै गरि अब तरुणदलले देशको हरेक कुनामा तरुणदल प्रशिक्षण भेलाको आयोजना गर्ने र जनताको साथमा हरदम तरुणदल रहने पनि उल्लेख गर्नुभएको छ ।
यस्तै उहाले सबै तरुण युवाहरुलाई आफ्नो जिल्लामा आफ्नो क्षेत्र र ठाउँमा ढुक्क भएर एकताबद्ध भएर कुनै गुट उपगुटमा नलागी काम गर्ने निर्देशन समेत दिनुभएको छ । अबको कांग्रेसको भार नेपाल तरुणदलको काँधमा भएको भन्दै पुरा मेहेनतका साथ दृढ विश्वास सहित अनुशासित ढंगले काम गर्न समेत उहाले तरुण युवाहरुलाई निर्देशन दिनुभएको छ ।
चैत्र २५ गते देखि प्रदेश नं १ अन्तर्गत झापाबाट सुरु भएको नेपाल तरुणदलको प्रदेश स्तरीय प्रशिक्षण भेला ६ वटा प्रदेशमा सकिएको छ । अब मात्र ६ नं प्रदेशमा प्रशिक्षण भेला हुने बाँकी रहेको छ । प्राप्त जानकारी अनुसार प्रदेश नं ६ को तरुणदल प्रशिक्षण भेला बैशाख अन्तिममा सुर्खेतमा हुनेछ । अब यस लगतै गाउँ गाउँमा समेत प्रशिक्षण भेलाको आयोजना गर्ने नेपाल तरुणदल केन्द्रीय समितिले निर्णय गरिसकेको छ । तरुणदलको यस प्रशिक्षण भेलाले यति बेला हरेक तरुण युवामा र कांग्रेस प्रेमीहरुमा उर्जा थपेको देखिएको छ ।