काठमाडाैं । ६ बैशाख – रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजनको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । ओमसतिया गाउँपालिका–६, शिबलवाहा का १८ वर्षीय प्रेम सागर केवटलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार पक्राउ परेका केवटलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मृतक किशोरी सोमबार राति करिब ९ बजे घरबाट वेपत्ता भएकी थिइन ।
मंगलबार बिहान ८ बजे ओमसतिया गाउँपालिका–६ स्थित खाली खेतमा किशोरीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय धकधईलाई जानकारी गराएका थिए । घटना शंकास्पद देखिएपछि अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मृतक किशोरीसंग केवटको ३–४ वर्ष देखि नै चिनजान भएको र प्रेम सम्बन्ध बढ्दै गएको बताइएको छ । सोमबार साँझ मृतकसंग भेटघाट गरि उक्त रात खेतमा संगै रहेर शारीरिक सम्बन्ध पनि भएको प्रहरीले जनाएको छ ।
बिहानपख विवाद हुँदा केवटले मृतकको कपालले घाँटी कसी मृतक शिथिल भइसकेपछि घर तर्फ गएको भनी प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।