काठमाडौँ । ५ बैशाख – यातायात व्यवसायीहरुले सिन्डिकेट खारेज गरेको विरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
यता सरकारले सिण्डिकेटको पक्षमा रहेर यातायात बन्द गर्ने गराउने व्यवसायी, संघ तथा समितिहरुको बैंक खाता रोक्ने चेतावनी दिएको छ ।
सरकारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा यातायात व्यवस्था विभागको संयोजकत्वमा देशभरका दर्ता गरीएका ३ सय भन्दा बढी यातायात समितिको विवरण बुझाइसकेको छ ।
यातायात ब्यवसायीले आन्दोलन स्वरुप बुधबार वैशाख ५ गतेदेखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् । पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् ।