अनलाईननेपालगंज डटकम :
नेपाल तरुणदल केन्द्रीय समितिको आयोजनामा भईरहेको प्रदेश स्तरीय प्रशिक्षण भेला अन्तर्गत प्रदेश नं २ को प्रशिक्षण भेला पनि समापन भएको छ । प्रदेश नं २ अन्तर्गत बिरगंज पर्सामा तरुणदल केन्द्रीय समितिको आयोजना र तरुणदल जिल्ला समिति पर्साको संयोजनमा हिजो चैत्र २९ गते प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाद्वारा उद्घाटन भई प्रशिक्षण भेला सुरु भएको थियो । २ दिने उक्त प्रशिक्षण भेलाको आज समापन भएको हो ।
समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला र नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रशिक्षण भेलामा नेपाली कांग्रेसका प्रवक्ता विश्वो प्रकाश शर्मा, नेपाल तरुणदल पुर्व अध्यक्ष बालकृष्ण खाँड, नेपाल तरुणदलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा लगाएतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणको क्रममा सबैले प्रशिक्षार्थीहरुलाई तरुणदलको मुल्य मान्यता र यसको आवश्यकताको बारेमा बताउनुभएको थियो । यस्तै अबको समयमा तरुणदल बलियो बनाउन चाल्नु पर्ने कदम तर्फ पनि प्रशिक्षार्थीहरुको ध्यान आकर्षण गरिएको थियो ।
यस्तै समापन कार्यक्रममा बोल्दै नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले तरुणदलले देशमा भईरहेको अन्याय, भ्रष्टाचार र विकृति हेरेर नबस्ने र त्यसको विरुद्धमा बौद्धिक र नैतिक स्तरले जुनै पनि किसिमको लडाई लड्ने बताउनुभयो । यस्तै उहाले कांग्रेस हारको समिक्षा गर्दै पार्टी भित्रको गुट र उपगुट नै कांग्रेस हारको मुख्य कारण रहेको उल्लेख गर्नुभयो । यस्तै उहाले निर्वाचन अगाडी बामगठबन्धनको सरकारको बारेमा गरेको भविष्यवाणी आज सत्य साबित भईरहेको समेत बताउनुभयो ।
यस्तै उहाले अब प्रदेश स्तरीय प्रशिक्षण लगतै जिल्ला स्तरीय, गाउँ स्तरीय, नगर स्तरीय र वडा स्तरीय प्रशिक्षण पनि सुरु गरिने बताउनुभयो । अब प्रदेश नं ३ अन्तर्गत बैशाख ३ र ४ गते हेटौडामा तरुणदल प्रदेश स्तरीय प्रशिक्षण भेला हुदैछ । उक्त भेलामा प्रमुख अतिथिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेटौडामा आउनुहुने कार्यक्रम रहेको छ ।