अनलाईननेपालगंज डटकम :
अमेरिका भ्रमणमा रहेका नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको प्रमुख आतिथ्यमा अमेरिकाको टेक्सासको डल्लासमा आईतबार समसामयिक राजनीति र निर्वाचनमा नेपाली कांग्रेसको समिक्षाको विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । तरुणदल अमेरिकाका अध्यक्ष ओम भट्टराईको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति सी.पी पौडेल लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको तत्कालिन राजनीतिक अवस्थाको विषयमा तरुणदल अध्यक्ष बस्नेतले आफ्नो भनाईहरु प्रस्तुत गर्नुभएको थियो । आफ्नो भनाईहरु राख्ने क्रममा उहाले अहिलेको सरकारले अपराधीमा समेत विभेद गरेको आरोप लगाउनु भएको छ ।
उहाले अपराध गर्नेलाई वर्तमान सरकारले कानुनी दायरामा ल्याउन खोजेको हो भने नवराज सिलवाल, परशुराम बस्नेत लगायतलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको छ । काभ्रेका गणेश लामालाई प्रहरीले पक्राउ गरेको विषयमा बोल्दै तरुणदल अध्यक्ष बस्नेतले कानुन र संविधानको पक्षमा नेपाली कांग्रेस र नेपाल तरुणदल रहेको भए पनि त्यस्तै प्रकृतिका अपराधमा संलग्न रहेका र प्रहरीले खोजी गरिरहेकाहरुलाई यो सरकारले संरक्षण गरेर आस्थाका आधारमा विभेद गरेको आरोप लगाउनु भयो। उहाले यदि कानुनी राज र दण्डहिनताको पक्षमा यो सरकार छ भने टोले गुण्डा सबैलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिनु भएको छ ।
यसै गरि पहिले जे जस्तो भएपनि अहिले भने नेपाल तरुणदल भित्र कुनै पनि गुटउपगुट नरहेको उहाले प्रष्ट पार्नु भयो । आफुले टिकट पाए ठिक तर अरुले टिकट पाए बेठिक भन्ने सोचले गर्दा नै कांग्रेस गत निर्वाचनमा पराजित हुनु परेको कुरा उहाले उल्लेख गर्नु भयो । यस्तै नेपाली कांग्रेसले गरेको राम्रो कामको प्रचार जनता माझ गर्न नसक्नु पनि निर्वाचनमा हारको अर्को मुख्य कारण रहेको उहाले बताउनु भयो । अब सबै तहबाट नेपाली कांग्रेसलाई माथि उठाउन र जनताको माझमा पुर्याउन जरुरी रहेको र यसको सुरुवात सबैले आफ्नो तह देखि गर्नुपर्ने पनि उहाले बताउनुभयो । यस्तै उहाले अहिलेको सरकारले कम्युनिष्ट शासन तर्फ अगाडी बढ्दै संविधान मिचेर निर्णय गरेको प्रति आपत्ति जनाउदै यस किसिमको गतिविधि सरकारबाट फेरी पनि भए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ ।
२ हफ्ताको लागि अमेरिका भ्रमणमा रहनु भएका तरुणदल केन्द्रीय अध्यक्ष बस्नेत यति बेला टेक्सास राज्यमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहनु भएको छ । यस्तै अब अध्यक्ष बस्नेत क्यालिफोर्निया राज्यको लस एन्जलस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस्तै उहा मंगलबार नेपाली जनसम्पर्क समिति साउथर्न क्यालीफोर्निया च्याप्टरको आयोजनामा हुन लागेको स्वर्गीय नेपाली कांग्रेस पार्टी सभापति गिरिजाप्रसाद प्रसाद कोइरालाको स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ भने बुधबार बिहान जनसम्पर्क समिति अमेरिका नर्थन क्यालीफोर्नियाको निमन्त्रणामा सान फ्रान्सिस्को तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।