स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई क्लब भित्र्याउने बारे छलफल थालेको छ।
सर्वाधिक रकमा फ्रेन्च क्लब पिएसजी आबद्ध नेइमारलाई भित्र्याउने विषयमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएका हुन्। पेरेजले नेइमारलाई भित्र्याउने विषयमा उनका बुबासँग कुराकानी गरिरहेकोसमेत स्पेनिस मिडियाहरुले सार्वजनिक गरेका छन्।
नेइमार गत सिजन मात्र बार्सिलोनाबाट महंगो रकममा पिएसजी आबद्ध भएका थिए।
यो सिजन राम्रो फर्ममा देखिएका नेइमारले १२ खेलबाट ११ गोल गरिसकेका छन्।
क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।
रियलका अध्यक्ष पेरेज र नेइमारका बुबाबीच नेइमार फेरि स्पेन फर्कने विषयमा लामो छलफल भएको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले लेखेको छ।
नेइमारका लागि रियल म्याड्रिडमा स्थान जहिले पनि खुला रहेको अध्यक्ष पेरेजले बताए पनि पिएसजीमा उनी खुसी रहेको समाचारमा जनाइएको छ।
नेइमारका बुबाले रोनाल्डो रहेसम्म नेइमार मड्रिड नआउने समेत बताएका थिए।
यता रोनाल्डोले आगामी सन् २०२१सम्म रियलसँग सम्झौता गरिसकेका छन्। त्यसपछि नेइमारलाई रोनाल्डोको स्थान लिनेगरी भित्र्याउन सकिने पेरेजले नेइमारका बुबालाई बताएका थिए।
पिएसजीलाई उपाधि जिताउन केन्द्रित नेइमार पिएसजीमा खुसी देखिएका छन्।