विनिता कार्की/उकिता दाहाल, काठमाडौं, कात्तिक २० – नेपाली राजनीतिक आन्दोलन, सामाजिक जागरण र परिवर्तनका लागि आधा आकाश ढाकेका महिलाहरुको योगदान प्रेरक र उदाहरणीय छ।
वि.सं. २०६२/०६३ सालको जनआन्दोलनमा सधैं अग्रभागमा रहने छाँयादेवी पराजुली हुन् वा राष्ट्रपति विद्यादेवी भण्डारी, संविधानसभा अध्यक्ष ओनसरी घर्तीमगरदेखि प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी सुशीला कार्की, राष्ट्रका लागि उनीहरुले दिएको योगदान र गरेको संघर्ष अनुकरणीय छ।
नेपाली राजनीतिमा प्रतिनिधित्वका हिसाबले संख्यात्मक रुपमा थौरै भएपनि गुणात्मक कार्यबाट महिला नेतृत्वहरुले आफ्नो क्षमता प्रमाणित गरेका छन्।
मुलुकमा अहिले चुनावी सरगर्मी बढेको छ। राजधानी काठमाडौं र हेभिवेट नेताहरु उठेको क्षेत्रका विषयमा चर्चा हुन्छ नै। तर, अहिले कैलाली क्षेत्र नम्बर–१ लाई पनि त्यति नै चर्चा र चासोका साथ हेरिएको छ।
किनभने कैलाली–१ मा दुई जना महिला नेतृबीच प्रतिष्पर्धा हुँदैछ। मुलुकका विभिन्न जिल्लामा प्रत्यक्षमा महिला शुन्य रहेको स्थिति छ। र, महिला नेतृहरुबीच प्रतिष्पर्धा हुन लागेको मुलुकको एक मात्रै निर्वाचन क्षेत्र कैलाली–१ नै हो।
कैलाली क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सचेतक ईश्वरी न्यौपाने र एमाले र माओवादी केन्द्रका तर्फबाट नेतृ गरिमा शाह प्रतिस्पर्धा गर्दैछन्। शुभदिनले न्यौपाने र शाहका भावी योजना र कार्यक्रमलाई खोतल्ने प्रयास गरेको छ।
नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपाने आसन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–१ बाट चुनावी प्रतिस्पर्धामा छिन्। यसअघि समानुपातिक सांसद रहिसकेकी नेतृ न्यौपानेले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएकी हुन्।
गत बिहीबार मनोनयन दर्ता गराएसँगै चुनावी अभियानमा होमिएकी न्यौपानले पार्टीका एजेण्डाहरुलाई जनतामाँझ पुर्याउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेकी छिन्। न्यौपानेले कैलालीमा सबै जातजाति र समुदायबीच एकता एवम् सामाजिक सद्भाव कायम राख्न आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
‘तीन वर्षअघि क्षेत्र नम्बर–१ मै पर्ने टीकापुरमा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको घटनापछि केही हदसम्म सामाजिक सद्भाव बिग्रिएको चर्चा भयो,’ कांग्रेस नेतृ तथा विकास अभियन्ता न्यौपानेले शुभदिनसँग भनिन्, ‘सबैलाई एउटै सुत्रमा बाँधेर अघि बढ्ने मेरो लक्ष्य हो।’ निर्वाचनका कार्यक्रममा पनि न्यौपानेले टीकापुर क्षेत्रको सामाजिक सुरक्षा र सद्भावलाई प्राथमिकतामा राखेकी छिन्।
न्यौपानेले सामाजिक सद्भाव कायम राख्न सबै जातजातिलाई एकताबद्ध गर्ने र महिला प्रतिनिधित्व सुनिश्चित गर्न साथै विकृति, र विसंगतिलाई हटाउने अठोट व्यक्त गरेकी छिन्।
यस्ता छन् चुनावी एजेण्डा
न्यौपानेले थुप्रै विषयलाई चुनावी एजेण्डामा समावेश गरेकी छिन्। उनले कृषि क्षेत्रमा सिँचाई सुबिधा, कैलालीलाई औद्योगिकस्थल बनाउने, किशोरीहरुलाई उच्च शिक्षाका लागि प्रेरित गर्ने, युवाहरुलाई स्वरोजगार बनाउने लगायतका एजेण्डाहरु मतदाता समक्ष ल्याएकी छिन्।
न्यौपानेले महिलाको हकहितका लागि सधैं काम गर्ने प्रतिवद्धता जनाउँदै कैलालीका जनताको जीवनस्तरमा सुधार हुनेमा सबैलाई सकारात्मक रहन आग्रह गरेकी छिन्। कैलाली विकासका दृष्टिले पिछडिएको क्षेत्र तथा उच्च शिक्षाबाट बञ्चित रहेको हुनाले यस विषयलाई प्राथमिकतामा राखेको उनले बताएकी छिन्। दैनिक जीवनयापनका भारतसँग निर्भर हुनुपर्ने कैलालीका जनताले स्वदेशमै अवसर पाउने उनले प्रष्टोक्ति छ।
नेतृ न्यौपानेले कैलालीको दीगो विकासका लागि दीर्घकालीन योजनाअघि सारेकी छिन्। कैलालीको विकासमा लागि परेको र त्यहाँको दुःख देखेको र भोगेको हुनाले त्यसको समाधानका लागि आफू निरन्तर लागिरहने उनले बताइन्।
न्यौपानेले कैलाली–१ मा दुई महिलाबीचको प्रतिस्पर्धा सहज रुपमा लिन पनि आग्रह गरेकी छिन्। उनले नेपाली महिला आन्दोलनलाई अझै सशक्त बनाउन र अधिकार सुनिश्चित गर्न आफू प्रयत्नशील भइरहने बताएकी छिन्। उनले संविधान निर्माणका क्रममा महिलाका अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेकी छिन्।
प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट गरिमा शाहले प्रदेश नम्बर–७ को कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएकी छिन्।
प्रत्यक्षतर्फ दुई महिलाबीच प्रतिस्पर्धा भएको यो मुलुकको एउटै मात्र निर्वाचन क्षेत्र हो। यस्तो प्रतिस्पर्धा सकरात्मक रहेको र यसले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने एमाले नेतृ शाहको धारणा छ।
संविधान मस्यौदा समिति सदस्य भएर संविधान निर्माणमा सक्रिय भूमिका खेलेकी नेतृ शाहले महिलामैत्री, बृद्धामैत्री, युवामैत्री ऐन कानून बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।
यस्ता छन् एजेण्डा
नेतृ शाहले आर्थिक समृद्धितर्फ मुलुकलाई डोर्याउनका लागि अब महिलाले नेतृत्व गर्नु पर्ने बताएकी छिन्। देश र जनताको आर्थिक समृद्धि र सबल जीवनस्तरका लागि आफूले लड्दै आएको उनले बताइन्।
समानुपातिक सांसद भइसकेकी शाहले आफ्नो क्षेत्रका जातजाति, भाषाभाषी, धर्मसंकृतिलाई समेटेर संग्राहलय बनाउने लक्ष्य लिएकी छिन्। पर्यटकीय स्थलहरुमा पूर्वाधारको विकास गरी जनताको आयस्रोत बृद्धि गर्ने उनको योजना छ।
कैलालीमा डल्फिन हेर्न आउनेको घुइँचो रहने गरेको उल्लेख गर्दै शाहले पूर्वाधारको विकासमा योगदान गरेको उनले बताइन्। कर्णालीसहित अन्य नदीहरुमा तटबन्ध गर्ने, पुल निर्माण गर्ने, लिंक सडकहरु कालोपत्रे बनाउने काममा पहल गरेकाले जनताले आफूलाई मत दिने उनको विश्वास छ।
निर्वाचनमा आफूले जीत हासिल गरे अपुरा कामलाई सम्पन्न गर्ने उनको योजना छ। विकास निर्माणमा पहल गर्ने, विद्युतसेवा प्रवाह तथा सडक कालोपत्रे गर्ने लगायतका योजना शाहले अघि सारेकी छिन्।
युवालाई रोजगारी दिन राज्यले नीति निर्माण बनाउनु पर्ने बताउँदै उनले यसका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छिन्। महिलाहरुलाई आत्मनिर्भर बताउन र आर्थिक गतिविधिमा संलग्न गराउन पनि अहम् भूमिका निभाउने उनले बताएकी छिन्।