काठमाडौं, राष्ट्रिय सहमतीय परिवर्तनको कुरा चलिरहेका बेला संसद्को सबैभन्दा ठूलो पार्टी अर्थात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बहुमतीय सरकारको पक्षमा उभिएको छ । माओवादी केन्द्रले फेरी सहमतीय सरकारका लागि प्रयास अघि बढाइरहेका बेला कांग्रेस भने सैद्धान्तिक रूपमै त्यसको विपक्षमा देखिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रका धेरै सवालमा मतान्तर रहँदा रहँदै पनि सरकारका विषयमा भने समान दृष्टिकोण छ, कांग्रेस र एमालेमध्ये एउटा प्रतिपक्षमा बस्नुपर्छ भन्नेमा रहेको छ ।कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई असार ७ गतेको भेटमा सहमतीय सरकार बन्न नसक्ने प्रस्ट जवाफ दिइसकेको श्रोतको दाबी छ ।
कांग्रेसले समर्थन दिए आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्न सक्ने दाहालको भनाईप्रति देउवाको जवाफ थियो, ‘त्यसो भए सरकारको कुरै नगर्नुहोस्, एमालेको समर्थनमा तपाईं प्रधानमन्त्री बन्ने हो भने कांग्रेस प्रतिपक्षमै बस्छ ।’ देउवासँगको भेटपछि पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत केहीले कांग्रेस सहमतीय सरकारकै लागि सकारात्मक रहेको टिप्पणी गर्दै आएका छन् । कांग्रेस नेताहरू माओवादी केन्द्रले जनताका लागि देखाउन यसो भने पनि उ एमालेलाई प्रतिपक्षमा राख्ने योजनाका साथ अघि बढेको दाबी गर्छन् ।
संविधान जारी गर्दा सहकार्य गरेका प्रमुख दलहरू संविधानको कार्यान्वयनको चरणसम्म मिलेर सरकार बनाउनुपर्ने तर्कसँग पनि कांग्रेस नेताहरू असहमत छन् । ‘दुई ठूला दल कांग्रेस र एमाले संविधान कार्यान्वयनका विषयमा पछि हट्न सक्ने अवस्था छैन, चाहे सत्तामा होस् या प्रतिपक्षमा,’ कांग्रेसका एक नेताले भने, ‘संविधान कार्यान्वयनको मुख्य समस्या भनेकै मधेशी र थारूको मागसँग छ ।
यो माग सम्बोधन हुनासाथ नै संविधान कार्यान्वयनको प्रक्रिया सहज ढङ्गले अघि बढ्छ ।’ कांग्रेस नेता प्रकाशशरण महतले आधार बिनाको सहमतीय सरकार जनतालाई देखाउने विषय मात्रै भएको बताए । ‘कसको नेतृत्वमा सहमति गर्ने आधार खै ?’ उनले भने, ‘प्रधानमन्त्री केपी ओली यही सरकारलाई राष्ट्रिय स्वरूप दिने बताउँदै आएका छन् । माओवादी आफ्नै नेतृत्वमा सहमतिको सरकारको चर्चा गर्छ । यस्तो द्विविधा र भ्रममा हामी पर्न चाहन्नौं ।’