२९ चैत, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै एक महिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध आन्दोलन गर्ने क्रान्तिकारीले जनाएको छ ।
सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले चैत २९ देखि ०७३ बैशाख ५ सम्म प्रचारप्रसार गर्दै ज्ञापनपत्र र चेतावनी पत्र बुझाउने तथा बैशाख ६ गतेदेखि १५ गतेसम्म क्रियात्मक संघर्ष गर्ने जानकारी दिए ।
उनले भने, ‘विभिन्न संगठनहरुको चाहनामा त्रिविले निर्वाचन रोक्न षडयन्त्र गरिरहेको छ । यो तरिका हाम्रो संगठनको लागि स्वीकार्य हुँदैन । स्ववियू चुनाव मिति तत्काल गर्नु तोक्न त्रिविसँग माग गर्दछौं ।’
स्ववियू निर्वाचनसम्बन्धी प्रावधान पञ्चालयतकालीन रहेको भन्दै पूर्ण समानुपातिक र वैज्ञानिक ढंगले निर्वाचन गर्ने प्रावधान राखिनुपर्नेमा सिंहले जोड दिए ।
केही विद्यार्थी संगठनले त्रिविले टुंग्याइसकेको उमेर हदको प्रावधानविरुद्ध लविङ गरिरहेकोमा पनि क्रान्तिकारीले आपत्ति जनाएको छ । नेपाल विद्यार्थी संघले २८ वर्षे उमेर हद लागू नगरी स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयलाई दबाव दिँदै आएको छ ।
क्रान्तिकारीले अध्यक्ष सिंहको संयोजकत्वमा स्ववियु निर्वाचन मूल परिचालन कमिटी गठन पनि गरेको छ ।
साथै स्ववियू निर्वाचन प्रचारप्रसार लगायतका कार्य विभाजनसहित केन्द्रीय पदाधिकारीहरुको नेतृत्वमा उपसमितिहरु समेत गठन गरिएको सम्मेलनमा जानकारी दिइएको छ ।
कार्यक्रममा नयाँ शैक्षिक सत्रको भर्नासँगै निजी विद्यालयहरुले मनपरी शुल्क असुल्न थालेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति समेत जनाएको छ ।
अध्यक्ष सिंहले गत वर्ष शिक्षा मन्त्रालय, निजी शैक्षिक संगठन र विद्यार्थी संगठनहरुबीच भएको सहमति लागू गर्न सरकारसँग माग गरे । उनले प्याब्सन र एनप्याब्सनलाई सहमति पालना गर्न आग्रह पनि गरे ।
त्यस्तै राष्ट्रिय स्वाधीनतामाथि आँच पुग्ने गरी भारतीय शैक्षिक पाठ्यक्रम चलाइरहेका भारतीय शैक्षिक संस्थाहरु तत्काल खारेज गर्नुपर्ने माग गर्दै विदेशी शैक्षिक कार्यक्रम चलाउने कलेजहरुलाई समेत कार्यक्रम हटाउन अखिल क्रान्तिकारीले आग्रह गरेको छ ।
आग्रहलाई अटेर गर्ने शैक्षिक संस्थाहरुविरुद्ध सम्झौताहीन संघर्ष गर्ने अध्यक्ष सिंहले चेतावनी दिए ।