कोलाकाता – विश्वकप टी—२० को फाइनलको अन्तिम ओभरसम्म इंग्ल्याण्ड खेलमा हाबी थियो । जितका लागि १ सय ५६ रन पछ्याइरहेको वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितका १९ रनको आवश्यकता थियो ।
अन्तिम ओभरमा बलिङमा आए बेन स्टोक, जो प्रतियोगिता भर अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरिरहेका थिए । तर, कार्लोस ब्राथवेटले लागातार ४ छक्का हिर्काउँदै वेस्ट इन्डिजलाई ४ विकेटको जित दिलाए । जितसँगै वेस्ट इन्डिज दोस्रो पटक विश्वकप च्याम्पियन बनेको छ । यसअघि सन् २०१२ मा वेस्ट इन्डिज विश्व च्याम्पियन बनेको थियो । सन् २०१२ र सन् २०१६ को फाइनलको समानता भनेको मार्लन स्यामुयल्स रहे । त्यतिबेला पनि उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकाविरुद्ध ७८ रन बनाएका स्यामुयल्सले आजको फाइनलमा नट आउट रहँदै ८५ बनाएर जितको आधार तय गरे । अन्य ब्याटसम्यान लगातार आउट भइरहँदा उनले ६६ बलमा ९ चौका र २ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच घोषित भए ।