नेपालगन्ज, २४ कात्तिक । जिल्ला शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा बाँके जिल्लाका अधिकांश विद्यालय अपाङ्गतामैत्री नभएको पाइएको छ ।
सो कार्यालयअन्तर्गतको अनुगमन समितिले जिल्लाका विभिन्न विद्यालयमा पटकपटक गरेको अनुगमनका क्रममा विद्यालयले सरकारको समाहित शिक्षाको अवधारणा अख्तियार गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको समितिको ठहर छ ।
विद्यालयका भौतिक संरचनामा ¥याम्प नभएको, शौचालय पनि अपाङ्गमैत्री नभएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
अधिकांश विद्यालयमा अपाङ्गता भएका बालबालिकाले छात्रवृत्ति र परिचयपत्र पनि नपाएको अनुगमनका क्रममा देखिएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार छात्रवृत्तिका लागि कार्यालयले प्रयत्न गरिरहेको र प्राविधिक समस्या केही देखिए त्यसको व्यवस्थापन गरिने छ ।
अर्कोतर्फ बाँके जिविसअन्तर्गतको जिल्ला अपाङ्ग समन्वय समितिले जिल्लाका सबैखाले अपाङ्गता भएकाका लागि उनीहरूको सेवा, सुविधा प्रभावकारी बनाउने, राज्यका निकायमा पहँुच बढाउने, सचेतीकरण गर्ने र आइपरेका समस्या समाधानमा क्रियाशील हुने कार्यक्रम सञ्चालन गरिरहेको समितिका उपाध्यक्ष दिलबहादुर केसीले बताउनुभयो । रासस