विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र महन्थ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच विवाद हुँदा नेपालगन्जको रुपेडिया नाका शनिबार तनाव भएको छ । उनीहरुबीच नेपाल वा भारतीय भूमिमा कता धर्ना बस्ने भन्ने विषयमा विवाद भएको हो ।
मधेसी मोर्चाका कार्यकर्ता नेपालमै या भारतीय भूमिमा बसेर आन्दोलन गर्ने विषयमा भएको विवादपछि एकआपसमा ढुंगा हानाहान भएपछि रुपेडियामा तनाव बढेको हो । नेपालमा नाकाबन्दीको विषयमा भएको विवादका क्रममा भारतीय भूमिमा बस्नेहरुले नेपालतर्फ रहेकालाई सरकारी एजेन्टको आरोप लगाएका छन् भने नेपाली भूमिमा रहेकाले भारतीय भूमिमा रहेकालाई भारतीय दलालको संज्ञा दिएका छन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय सदस्य विजय गुप्ता, पशुपति दयाल मिश्र र संघीय समाजवादीका जिल्ला अध्यक्ष कमरुदिन राई लगायत नेताहरु भारतीय भुमिमा बसेर सीमामा अवरोध गरिरहेका छन् ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का कार्याकर्ताले नेपाली भूमिमै बसेर आन्दोलन गर्न आग्रह गरेको आग्रहलाई अन्य मधेसी दलका नेता कार्याकताले नमानेपछि चर्काचर्की र ढुंगा हानाहान भएको हो । लोकतान्त्रिकका जिल्ला नेता मिसवाउलहक अन्सारीले नेपाल भूमिमै धर्ना बस्न आग्रह गर्दा अन्य मधेसी दलका कार्याकर्ताले अटेर गरी भारतीय भूमि प्रयोग गरेका हुन् ।
मधेसी मोर्चाकौ कार्यकर्ता एकआपसमा भिंडेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लोकतान्त्रिक र अन्य मधेसी दलका कार्यकर्ताबीचको तनावलाई साम्य पारेको थियो ।
सातायता सुचारु रुपेडिया नाकामा शनिबार भारतीय भूमिबाट मोर्चाका कार्यकर्ताले सीमामा अवरोध गरेपछि नेपाल भित्रिने पेट्रोलियम तथा मालवाहक ट्रक रोकिएका छन् । – अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।