डोल्पा १० असोज- डोल्पाको एकमात्र यातायातको साधनका रुपमा रहेको जुफाल विमानस्थलको स्तरोन्नतिपछि कृषकलाई डोल्पाली स्याउ बेच्न सहज भएको छ । वर्षौंदेखि बजारको अभावमा बोटमै कुहिने गरेको स्याउ यस वर्षदेखि विमानस्थल हुँदै जिल्ला बाहिर निर्यात गर्न थालिएको छ । सडकको पहँुचको अभावमा अधिकांश स्याउ बोटमै कुहिने गरेकामा हवाई उडानले निर्यात गर्न सहज भएको कृषकले बताएका छन् । यस वर्ष कच्ची हवाई मैदानलाई स्तरोन्नति गरी रोडा बिछ्याइएपछि साना विमानले दैनिक ४०० किलोभन्दा बढी स्याउ ओसार्ने गरेको विमान कम्पनीले जनाएका छन् ।
डोल्पाली स्याउको मूल्य जिल्लामा प्रतिकिलो रु ३० देखि रु ४० परे तापनि जिल्ला बाहिरका बजारमा प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको स्थानीय स्याउ कृषक श्रीदल बुढाले बताउनुभयो ।