लगातारको तराई बन्दका कारण जनजिवन अत्यन्त कष्टकर बन्दै गएको छ । विभिन्न माग राख्दै जारी आन्दोलनका कारण सर्बसाधारण सबैभन्दा भेरै मर्कामा परेका छन् । बन्दका कारण पश्चिम तराईका २२ जिल्ला तथा मध्यपुर्वी तराईका अधिकांश जिल्ला प्रभावित भएका छन् ।
जारी आन्दोलनले उग्ररुप लिएपछि सरकारले केहि जिल्लालाई दंगागस्त क्षेत्र घोषणा गरि सुरक्षा संवेदनशिलता बढाएको छ । पश्चिममा कैलालि तथा मध्यपुर्वि तराईको विरगञ्जमा अझै कफ्र्यु जारी रहेको छ भने थुप्रै क्षेत्रमा निशेधाज्ञा जारी रहेको छ ।
यसैबिच—संयुक्त मधेसी मोर्चाले महोत्तरीको गौशालामा रहेको दुई प्रहरी विटमा आगजनी गरेको छ । नारावाजी गर्दै आएका मोर्चा आबद्ध कार्यकर्ताले गौशाला नगरपालिकामा रहेको निगौल चौकको प्रहरी विट तथा बजार सुरक्षाका लागि बजार परिसरमा रहेको प्रहरी विटमा आगजनी गरेको हो । आगजनीबाट दुवै प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
उता—थारूवान् संयुक्त संघर्ष समिति बर्दियाले पाँच दिनका लागि बन्द फिर्ता लिने निर्णय गरेको छ । चितवन देखि कन्चनपुर सम्म थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा रहेको थरुहट थारुवान संघर्ष समितिले बन्दका कारण सर्वसाधारणको जनजिवन कष्टकरभएको भन्दै आज देखि २६ गतेसम्म पाँच दिनका लागि बन्द फिर्ता लिएको जनाएको हो । बन्द फिर्ता भएपछि आज बिहानै देखि बर्दियामा यातायात, शिक्षण संस्था र बजार खुलेका छन्। बजारमा बिहानै देखि चहलपहल बढेको छ । करिब २८ दिनदेखिको बन्दले स्थानियको जनजिवन प्रभावित भएको थियो । जनभावनाको कदर गर्दै आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको समितिका संयोजक गोविन्दप्रसाद थारूले बताउनुभयो ।