कञ्चनपुर, भदौ १३ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका कार्यालयले ७० वर्ष माथिका एक हजार ८८ ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च उपलब्ध गराएको छ ।
औषधि उपचार खर्चबापत ज्येष्ठ नागरिकलाई प्रतिमहिना रु पाँच सयका दरले गरी रु २१ लाख ७६ हजार रकम उपलब्ध गराएको हो ।
नगरपालिकाका ११ वटै वडामा केन्द्र निर्धारण गरी ज्येष्ठ नागरिक भत्ता वितरणसँगै औषधोपचार खर्च उपलब्ध गराइएको नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।
औषधि उपचार खर्च पाएपछि ज्येष्ठ नागरिकलाई उपचार खर्चका लागि परिवारको मुख ताक्नु परेको छैन् । ज्येष्ठ नागरिक धनादेवी धामीले औषधि उपचार खर्च उपलब्ध गराउने सरकारी योजनाले परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई उपचार खर्च जुटाउनका लागि अन्यत्र भौँतारिँदै हिँड्नुपर्ने दिनको अन्त्य भएको बताउनुभयो ।
यस कार्यबाट ज्येष्ठ नागरिकले सहजता महसुस गरेको उहाँले उल्लेख गर्नुभयो । आव ०७१÷७२ को चौथो चौमासिकदेखि ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च उपलब्ध गराउन थालिएको हो ।
यसैगरी, ज्येष्ठ नागरिकलाई भत्ताको रकम र औषधि उपचारको रकम बिनाझन्झट बुझ्नका लागि नगरपालिकाले आव ०७२÷७३ देखि बैंकमार्फत बुझ्ने व्यवस्थासमेत गरेको छ ।
नगरपालिकाले आव ०७१÷७२ मा ज्येष्ठ नागरिक १३१६ जनालाई ज्येष्ठ नागरिक भत्ताबापत रु ७२ लाख ९६ हजार, एकल महिला १०९६ जनालाई रु ६० लाख २० हजार ६००, अपाङ्गता भएका ८७ जनालाई रु छ लाख ५८ हजार भत्ताबापत रकम उपलब्ध गराएको छ । पाँच वर्ष मुनिका दलित बालबालिका ९९९ जनालाई रु १५ लाख ५१ हजार ४०० बाल संरक्षण अनुदान रकम उपलब्ध गराइएको छ ।
ज्येष्ठ नागरिक (अन्य), ज्येष्ठ दलित र विधवालाई रु ५०० का दरले, पूर्ण अशक्तलाई रु एक हजारका दरले, अति अशक्तलाई रु ५०० का दरले र आंशिक अशक्तलाई रु ३०० का दरले नगरपालिकाले भत्ताको रकम प्रतिमहिना उपलब्ध गराउँदै आएको छ ।
पोषणमा सुधार ल्याउनका लागि दलित पाँच वर्ष मुनिका बालबालिकालाई प्रतिमहिना रु २०० का दरले भत्ताको रकम प्रदान गर्दै आएको नायब सुब्बा गणेशदत्त जोशीले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका ज्येष्ठ नागरिक २८ जनाको मृत्यु भएका कारण घटेका छन् । एकल महिला १८ जना बसाइँ सराइ र वैवाहिक बन्धनमा बाँधिएका कारण घटेका छन् । पोषण भत्ता पाउँदै आएका दलित बालबालिकामध्ये पाँच वर्ष पूरा गरेका ३०१ बालबालिकाले समेत उमेर हदका कारण भत्ताको रकम नपाउने भएका छन् । रासस