दाङ, भदौ १३ । अर्थाभावमा आफन्तले उपचार गर्न नसकेर घर फिर्ता लगेका रोल्पाका एक बालकलाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको छ ।
चार दिन अगाडि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि आएका रोल्पा बुढागाउँ गाविस वडा नं ५ का ९ वर्षीय बालक टोपेन्द्र रानालाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको हो ।
मस्तिक ज्वरोबाट थलिएका बालक टोपेन्द्रलाई आफन्तले दुई दिनसम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखेर उपचार गरेको र उपचारमा कुनै पनि सुधार नआएपछि घरपरिवारको दबाबमा बच्चालाई घरमा फिर्ता लगेको आमा कृष्णा रानाले जानकारी दिनुभएको छ ।
आफूसँग भएको रु १० हजार सबै सकिएपछि उनीहरू घर फर्किएका थिए । घर फर्किए पनि तुलसी हस्पिटल तुलसीपुरले यसअघि रोल्पाका एक बालकलाई निःशुल्क उपचार गरेको थाहा पाएपछि कृष्णा साहुबाट रु छ हजार लिएर ऋण गरेर दाङ आउनुभएको थियो । रु छ हजार पनि सकिएपछि अचेत अवस्थामा उपचाररत बालकलाई आफन्तले घर लैजाने तयारी गरिरहेका बेला अस्पतालका डा किशोर खत्रीले नलैजान आग्रह गर्नुभएको हो ।
चार वर्ष अगाडि श्रीमान् गुमाइसकेकी कृष्णाले घरको आर्थिक अवस्था निकै कमजोर रहेको र त्यसमा पनि सासूलगायत अस्पतालभन्दा धामीझाँक्रीकहाँ दबाब दिएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “मस्तिष्क ज्वरोले अचेत अवस्थामा रहेका बालकको उपचार गरेमा ज्यान बच्न सक्छ । तपाई नआत्तिनुस्, यदि पैसा नभए आफ्नै खर्चमा पनि म उपचार गरिदिन्छु भन्नुभए अनुसार बालकको अहिले आइसियुमा उपचार भइरहेको छ । ”
“ ५० हजार रुपैयाँसम्म अस्पतालका तर्फबाट औषधि खर्च गर्न म तयार छु,” डा खत्रीले भन्नुभयो – “बाँकी रकम अन्य कुनै महानुभावले सहयोग गरिदिए हुन्थ्यो ।”
दुई दिनसम्म अचेत अवस्थामा रहेका बालकलाई पाइपमार्फत नाकबाट खाना खुवाइएको छ । बच्चाले तेस्रो दिन आज आँखा, हातखुट्टा, चलाउन थालेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । रासस