पुष्कर काफ्ले,रेडियो बबई, गुलरिया,बर्दिया
अप्रिय घटना नघटोस भन्दै स्थानिय प्रशासनले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाको केही क्षेत्रलाई जुलुस,प्रदर्शन, सभा, धर्ना गर्न नपाईने भन्दै अनिश्चितकालिन निषेधित क्षेत्र तोकेको छ । गुलरिया नगर क्षेत्र र राजापुर क्षेत्रमा विगत केही समययता लाठी लगायतका जुलुस, धर्ना हुँदै आएकोमा त्यसलाई रोक्न निषेधित क्षेत्र तोकिएको प्रशासनले जनाएको छ ।
गुलरियामा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागु गरेकोमा यसलाई निरन्तरता दिइएको छ । राजापुरका केही स्थानमा बिहान ९ देखि बेलुकी ५ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । संभावित अप्रिय घटना नहोस भन्दै निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो ।
लाठी, भाला, पेट्रोल लगायत प्रतिबन्धित घरेलु हतियार लिएर जुलुस प्रदर्शन गर्न रोक लगाइएको छ । यो नियम बर्खिलाप गरे पक्राउ गर्ने र अटेर गरे गोली हान्ने आदेश दिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो ।
– सीआईएन