गएको सोमबार कैलालीको टीकापुर घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । योसँगै टिकापुर घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा आज बिहान निधन भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले जानकारी दिनुभयो । सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत हवल्दार नेगी टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको थियो । कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर आजै उहाँको गृहनगर पु¥याइने प्रवक्ता बमले बताउनुभयो ।
यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।