आफु अनुकुल समाचार सम्प्रेषण नगरेको भन्दै मधेसवादी तीन दलले पत्रपत्रिका जलाएका छन् ।
आइतबार त्रिभुवनचोकमा जम्मा भएका मधेसवादी नेताहरुले नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्ज लगायतका राष्ट्रिय पत्रपत्रिकामा आगजनी गरेका हुन् । मधेसवादी आज आइतबार र भोलि सोमबार बन्द आव्हान गरेका छन् । बन्दलाई नेकपा–माओवादीको समेत समर्थन रहेको छ ।
पत्रपत्रिकाहरु विरुद्ध चर्को नाराबाजी र भाषण गरेका नेताहरुले दैनिक नेपालगन्ज, अन्नपूर्ण पोष्ट, युथ टुडे, नागरिक दैनिक लगायतका पत्रिकामा आगो लगाएका थिए ।
संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले संयुक्त विज्ञप्ति जारी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मोर्चा बीचको कार्यगत एकताबाट आन्दोलन घोषणा गरिएको जनाएका छन् । फोरम अध्यक्ष कमरुद्दिन राई, सद्भावनाका लक्ष्मी नारायण बर्मा र तमलोपाका गिरिजाप्रसाद पाठकले हस्ताक्षर गरेको विज्ञप्तिमा बन्दको सूचिमा विद्यालयलाई समेत राखिएको छ । ‘बालबालिकाको भविष्य अन्धकारहोस् भनेर विद्यालय बन्द आव्हान गरिएको होइन’, दैनिक नेपालगन्जको जिज्ञासामा फोरम अध्यक्ष राईले भने, ‘बन्द हड्तालका क्रममा बालबालिका हिडडुल गर्दा जोखिम होला भनेर हो ।’